दफा १५
भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको अनुमानित रकम कायम गरिदिन सक्ने
(१) कुनै पैठारीकर्ताले मालवस्तु पैठारी गर्दा लागेको भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको कागजात आफ्नो काब्‌ बाहिरको परिस्थिति परी तत्काल पेश गर्न नसक्ने भएमा सोको कारण खुलाई त्यस्तो भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको अनुमानित रकम कायम गरिदिनका लागि भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको कारोबार मूल्यमा समावेश हुन सक्ने भाडा, बीमा वा अन्य सम्बद्ध खर्च बापतको अनुमानित रकम कायम गरिदिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको अनुमानित रकम कायम भएको मितिले नब्बे दिनभित्र सम्बन्धित पैठारीकर्ताले सो मालवस्तुको वास्तविक भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च सम्बन्धी कागजात प्रमाण पेश गर्नु पर्नेछ । त्यसरी पेश गरेको कागजात प्रमाणमा उल्लेख भएको रकम उपदफा (२) बमोजिम कायम भएको अनुमानित रकमभन्दा बढी भएमा त्यस्तो बढी रकममा लाग्ने महसुल निजले बुझाउनु पर्नेछ र घटी भएमा लाग्ने महसुल कटाई बाँकी रकम भन्सार कार्यालयले निजलाई फिर्ता गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको अवधिभित्र सम्बन्धित पैठारीकर्ताले प्रमाण कागजात पेश नगरेमा वा अन्यथा प्रमाणित नभएमा भन्सार अधिकृतबाट उपदफा (२) बमोजिम कायम भएको अनुमानित रकमलाई नै त्यस्तो भाडा, बीमा र अन्य सम्बद्ध खर्चको अन्तिम रकम मानिनेछ ।